३१ चैत्र , काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा चैत १५ गते चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन् ।
कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो । तीमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको बताए । उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो । सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन् ।
आगलागी, सवारी साधन तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने अधिकारीले बताए ।

