२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरीलाई ठूलो सफलता : १४ जना रंगेहात समातिए

काठमाडौं । बिभिन्न स्थानमा प्रहरीको ठूलो सफलता हाँसिल गर्दै १४ जना लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई बोलेरो गाडी चढेर, स्कुटरमा, र पैदल हिँडेर लागूऔषध ल्याउँदै गर्दा रंगेहात पक्राउ गरिएको हो।

बाँकेमा ५ जना पक्राउ
बाँके, कोहलपुर नगरपालिका–५ स्थित शान्तिनगरको खाली घरबाट १८० मिलिग्राम खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुर्खेत बीरेन्द्रनगर–५ की २८ वर्षीया दिपिका पुन मगर र कोहलपुर–५ का १९ वर्षीय अनुस परियार रहेका छन्।

त्यस्तै, कोहलपुर नगरपालिका–८ नयाँबस्तीबाट ब्राउनसुगर जस्तो देखिने ३० मिलिग्राम पदार्थसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सागर विक, रञ्जित बस्नेत र कृष्ण चदारा रहेका छन्। कृष्ण चदाराको घरमा थप २७० मिलिग्राम लागूऔषध पनि फेला पर्‍यो।

लमजुङमा २ जना पक्राउ
लमजुङ, बेसीशहर नगरपालिका–८ सेराकोबाट फेनारगन ६ एम्पुल, डाइजेपाम ६ एम्पुल र ट्रामाडोल ६ ट्याब्लेटसहित दिपक गुरूङ (२४) र बिजय रावल (१९) लाई पक्राउ गरिएको छ।

महोत्तरीमा २ जना पक्राउ
महोत्तरी, बर्दिबास नगरपालिका–१ बाट नाइट्राजेपाम ३५० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरिएको छ। भँगाहा नगरपालिका–७ का पप्पु कुमार गिरी (३०) र सुजित गिरी (१९) बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेका मोटरसाइकलमा थिए।

मोरङमा ४ जना पक्राउ
विराटनगर महानगरपालिका–१६ हुलासचोकबाट स्कुटरमा सवार सुनसरी इटहरीका पासाङ शेर्पा (३०) र रविन्द्र लिम्बु (२५) लाई एभिल, डाइजेपाम, लुपिजेसिक र फेनारगनसहित पक्राउ गरिएको छ।

सोही स्थानबाट खैरो हेरोइन जस्तो देखिने ६.४ ग्राम लागूऔषधसहित सुन्दरहरैँचा–७ का जिवस तामाङ (२२) र भीमकुमार तामाङ (३८) पनि पक्राउ परेका छन्। उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै थिए।

सुनसरीमा १ जना पक्राउ
हरिनगर गाउँपालिका–४ स्थित बजारबाट अवैध गाँजा ३५ किलोसहित बराहक्षेत्र–६, चक्रघट्टी बस्ने सप्तरी निवासी २४ वर्षीय राजेश मुखियालाई पक्राउ गरिएको छ।

प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस