२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

खड्का परिवार दुई दशकपछि गाउँ फर्किए, गाउँपालिकाले दियो १ लाख पुरस्कार !

५ बैशाख, काठमाण्डौँ । खोटाङको बराहापोखरी गाउँपालिकाले बसाई सरी आएका परिवारलाई प्रोत्साहनबापत १ लाख नगद प्रदान गरेको छ । दुई दशकअघि गाउँ छाडेर बसाई गएका बराहपोखरी ६ मौवाबोटेका बेदबहादुर खड्का परिवारले पुनः गाउँ फर्कँदा १ लाख रुपैँया पाएका हुन् ।

२०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिका बलार्दह बसाई गएका खड्का महिना दिनअघि मात्र गाउँमै बस्नेगरी परिवारसहित फर्केका छन् । पुर्ख्यौली गाउँ मौवाबोटे फर्केका खड्कालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप लाख रुपैँया प्रदान गरेको हो । गाउँ फर्केर वडा कार्यालयमा बसाइसराई दर्ता गराइसकेका खड्कालाई घरमै पुगेर अध्यक्ष शालिकराम बञ्जराले प्रोत्साहन रकम दिए ।

खड्काले जन्मभूमिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर बसाई गएको १८ वर्षपछि गाउँ फर्केको बताए । आफूसहित ४ जनाको परिवार सप्तरीबाट बराहापोखरी नै बस्ने गरी बसाइसराइ लिएर फर्केको उनले बताए । बसाई सरेर गए पनि बाउबाजेले जोडिदिएको जग्गाजमिन भने खड्काले नबेचेको बताए । बसाई गएपछि बाझिएको जमिन पुनः खनजोत गरेर हराभरा बनाउने उनको लक्ष्य छ ।

गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार कानुनी प्रक्रिया पुरा गरेर गाउँ फर्केका खड्कालाई बिहीबार अध्यक्ष बञ्जराको टोली घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेको हो । बस्नलाई घर निर्माणमा लागेका खड्काले बाँझो जग्गाजमिनमा मकै र धान बाली लगाउने खनजोत पनि गरिरहेका छन् । खड्काले रित्तिँदै गएको गाउँ भरिभराउ गर्न र बाझिएको जमिन उर्वर र हराभरा बनाउन बसाई गएकाहरू फेरि फर्कनु पर्ने बताए ।

 

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस