६ बैशाख, काठमाण्डौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली छ । कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

