२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१६ महिनापछि अवकाश पाउने कर्मचारी बारीको भित्तामा मृत भेटिए

काठमाडौं । खोटाङको रावाबेँसी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी महेश रेग्मी मृत अवस्थामा फेला परेका छन्। गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी आज बिहान घर नजिकैको बारीको भित्तामा मृत भेटिएको वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए।

उनी गोरेटो बाटोबाट करिब ८–९ मिटर तल बारीतिर खसेको अवस्थामा, टाउको तल र खुट्टा माथि पर्ने गरी भेटिएको थियो। रेग्मी गएराति करिब ८:३० बजे दाजुको घरबाट हिँडेका थिए।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ र थप अनुसन्धान जारी छ।

रेग्मी तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै समायोजनपछि रावाबेँसी गाउँपालिका पुगेका थिए। उनका श्रीमती, चार छोरी र एक छोरा छन्। उनी अबको १६ महिनापछि अनिवार्य अवकाश पाउँदै थिए।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस