२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रवि लामिछानेको निवेदन संयुक्त इजलासमा पठाउने आदेश

९ बैशाख, काठमाडौँ । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब अर्को दिन दुई न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ ।

लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्। उच्चको आदेश बदर गरी थुना बाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।

 

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस