काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल नेपाल प्रहरीको हिरासतमा रहेका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न फैसला गरेको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासमा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट नारायणकुमार सुवेदीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अमेरिका जानुअघि उनीहरु झापाको बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएकाले उक्त शिविर वा अन्य कुनै उपयुक्त स्थान तोकी स्थानान्तरण गर्न फैसला गरेको हो।
नेपाल छिरेका चारसहित १८ भुटानी शरणार्थीलाई अमेरिकाले गत चैत ११ डिपोर्ट गरेको थियो। चार जना डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो। उनीहरुलाई अध्यागमन कार्यालय काकरभिट्टाले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा हिरासतमा पठाएको थियो।
अधिकारमा नियन्त्रणमा राख्ने निर्णय सर्वोच्चले कानुनी व्यवस्थाको गलत अर्थ भएको भन्दै पुन: न्यायको आदेश जारी गरेको हो।

