२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आज भूकम्प स्मृति दिवस, २०७२ सालको भुकम्पले अझै झस्काईरहेछ !

१२ बैशाख , काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो ।

पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।

सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस