१२ बैशाख , काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्यका लागि विधेयक टेबल भएको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधिसभाको बर्खे बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनै पर्नेमा जोड दिएका हुन् । ‘एउटै विधेयकमा वर्षौँसम्म संसद्मा अल्झी राख्ने परम्परा अन्त्य हुनै पर्दछ । एउटा विधेयक संसद्मा टेबल भएको कति दिन भित्रमा पारित भइसक्नुपर्ने हो, त्यसको स्पष्टता पनि अब आवश्यक छ । मेरो विचारमा एउटा विधेयक संसद्मा टेबल भएपछि त्यसको ६ महिनाभित्रमा कानुनको स्वरूप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी छ,’ घिमिरेले भने ।

