१२ बैशाख, काठमाडौँ । आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेका छन् ।
चैत २० गतेदेखि शिक्षक महासंघको आह्वानमा शिक्षकहरु २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । वार्ताका माध्यमबाटै समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै पन्तले वार्तामा बस्न आग्रह गरेका हुन् ।
बिहीबार मात्रै पद तथा गोपनीयताको सपथ लिएका पन्तले छिटो कानुन पास होस् भन्ने शिक्षकहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । ‘विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने बाताबरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयनशील रहेको छ, पन्तले अगाडि भनेका छन्, ‘शिक्षक प्रतिनिधिहरुसँगको वथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविकै हो ।’
मन्त्री पन्तले कानुन निर्माणको आफ्नै विधि भएकाले त्यसलाई अनुसार गरेर मात्रै अघि बढ्न सकिने जनाएका छन् । उनले भनेका छन्, ‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छदैछ। तसर्थ, शिक्षकहरुसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आहान गर्दछु ।’

