१२ बैशाख, मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट आज सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
विराटनगर विराटचोक सडक खण्डअन्तर्गत हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई बिहान ११ बजेतिर ठक्कर दिएको थियो । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटना लगत्तै भेला भएका स्थानीयले विराटनगर विराटचोक सडक खण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका थिए । भिडले शवलाई सडकबाट उठाउन नदिएर घटनास्थलमा प्रदर्शन तथा सडक जाम गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइफायर गर्नुपरेको कोशी प्रदेशका प्रहरी प्रवक्ता दाहालले उल्लेख गरे ।

