२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बेडरुम विवादमा प्रधानमन्त्री ओलीले महामन्त्री थापालाई दिए खुला चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाउने नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई खुला चुनौती दिएका छन्।

आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाउने आलोचकलाई प्रमाण प्रस्तुत गर्न आग्रह गरेका थिए। उनले राजनीतिमा षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले झुटा आरोप लगाउने गरेको उल्लेख गर्दै, केही व्यक्तिहरूले सरकार र नेतृत्वविरुद्ध झुठा प्रचार गर्दै स्थिरता र विकासको क्रममा अवरोध उत्पन्न गर्न खोजेको टिप्पणी गरे।

‘हामीले देश बर्बाद बनाइरहेका छौँ र कुनै अपराध गरिरहेका छौँ भन्ने आरोप लगाइरहेका छन्,’ प्रधानमन्त्री ओलीले थपे, ‘निलो रङका स्यालहरूको वास्तविकता लामो समय टिक्दैन।’

एमाले आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउने लक्ष्यमा रहेको प्रधानमन्त्री ओलीले बताए।

त्यस्तै, उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने भ्रम फैलाउनेहरूको अब चिसो पानी खन्याइएको टिप्पणी गरे। ओलीले पार्टीभित्र आलोचनात्मक भन्दा एकताको चेत आवश्यक रहेको बताएका थिए।

‘विरोधीको आरोपको खण्डन गर्न सक्नुपर्छ। पार्टीभित्र आलोचना मात्रै गर्ने बाटो सही बाटो होइन,’ ओलीले भने।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस