काठमाडौं । विभिन्न स्थानहरूबाट प्रहरीले अवैध लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय सागर चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित २३ वर्षीया सीमा राईलाई शनिबार राति पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र १९ वर्षीय सुसान परियार रहेका छन्। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७ ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय रवि दास र ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन्। प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित ३५ वर्षीय हिरालाल पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना खाजा घरबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ सय ६० ग्राम सहित २४ वर्षीय दिपलभ थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउण्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

