२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौसम पूर्वानुमान : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

१७ बैशाख , काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस