१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन् ।
स्रोतका अनुसार बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ । विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन । विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिको बैठकमा छलफल चलिरहेको छ । जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आशावादी र जनतासँग प्रत्यक्ष जोडिने गरी ल्याउने तयारीमा अर्थमन्त्रीसहितको टीम लागि परेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार

