काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धि उपभोक्ता मूल्यमा साढे ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो ।
मुलुकको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ३.८७ प्रतिशत भएको जानकारी दिएको थियो । गत वर्ष नेपालको अर्थतन्त्रको आकार गत वर्ष ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको थियो । एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब रुपैयाँ बढेको कार्यालयले जनाएको छ । यस्तै, अघिल्लो वर्ष अर्थतन्त्रको आकार ४८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।
कार्यालयका अनुसार कृषि क्षेत्रको वृद्धि ३.२३, गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत रहेको अनुमान छ । कार्यालयले ९ महिनाको तथ्यांक प्रयोग गरेर बाँकी अवधिको तथ्यांकीय विधिको प्रयोग गरी अनुमान गरिएको जनाएको छ । सरकारले चालु आर्थिक वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । यस्तै विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)ले यो वर्ष साढे चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेका छन् ।
कार्यालयले यो वर्ष आर्थिक गतिविधि सामान्य रूपले अघि बढेको अनुमान गरेको छ । आगामी महिना कुनै पनि झट्का हुने अनुमान नगरिएको सो अवसरमा जानकारी दिइयो ।

