२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

रेशम चौधरी पक्राउ गर्न पत्र लेख्नेलाई नै पक्राउ गरेपछि गयो राजनीतिक भूइचालो

Resham Ranjita Chaudhary

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पुनः गिरफ्तारीपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ। चौधरी पक्राउका लागि सर्वोच्च अदालतको नाममा ुशंकास्पद पत्रु पठाउने शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले विष्टलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ।

स्रोतका अनुसार विष्टले पठाएको पत्रमा प्रक्रियागत त्रुटि र वैधानिक आधार नभएको शंका उठेपछि उनी पक्राउमा परेका हुन्। यसै पत्रका आधारमा चौधरीलाई प्रहरीले डिल्लीबजार कारागारमा राखेको थियो।

तर पछिल्लो घटनाक्रममा सर्वोच्च अदालतले स्पष्ट आदेश जारी गर्दै चौधरीलाई तत्काल थुनामुक्त गर्न निर्देशन दिएको छ। सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुईकेलले डिल्लीबजार कारागारलाई पत्र पठाउँदै पूर्व आदेश ‘अधिकारीक पत्र नभएको’ भन्दै कार्यान्वयन नगर्न आग्रह गरेका छन्।

पत्रमा भनिएको छ, “यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई पठाइएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल थुनामुक्त गरिदिनुहुन अनुरोध छ।”

यसअघि सोमबार जनमत पार्टीसँग पार्टी एकता घोषणा हुनै लागेको बेला चौधरी प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ परेका थिए। उक्त घटनापछि पार्टी एकीकरण कार्यक्रम स्थगित भएको थियो। जनमत अध्यक्ष डा. सिके राउतले चौधरीको गिरफ्तारीप्रति विरोध जनाउँदै ‘राजनीतिक प्रतिशोध’ भएको आरोप लगाएका छन्।

उता चौधरी पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारीमा छ। पार्टी नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय प्रक्रियामा रहेको जनाएका छन्। अब सर्वोच्चको थुनामुक्त आदेशपछि रेशम चौधरीको रिहा प्रक्रिया अघि बढ्नेछ, भने ‘शंकास्पद पत्र’ प्रकरणको अनुसन्धान पनि थप जटिल मोडमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस