काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत फेला परेकी नेपाली विद्यार्थी वीरगञ्ज निवासी प्रिशा शाहको मृत्यु रहस्यमय बन्दै गएको छ। उनी होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको भुवनेश्वर प्रहरीले जनाएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासका अनुसार, घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। शव अहिले पोस्टमार्टम नगरी सुरक्षित राखिएको छ, किनभने पीडितको परिवार घटनास्थलमा आइपुगेको छैन।
भुवनेश्वर प्रहरीले दूतावासलाई जानकारी गराउँदै भनेको छ, “घरबाट कोही नआएसम्म पोस्टमार्टम गर्दैनौं।” घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ।
केआईआईटीमै गत फागुनमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्। त्यो घटनामा कलेज प्रशासनले गम्भीरता नदेखाएको भन्दै विद्यार्थी आन्दोलित भएका थिए। प्रिशाको घटनाले पुनः सोही विषयको याद दिलाएको छ।
प्रिशाका साथीहरूका अनुसार, उनको मृत्युपछि कलेजले अहिलेसम्म आधिकारिक सूचना सार्वजनिक गरेको छैन। प्रहरीले यसपटक अघिल्लो घटनाजस्तो कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गरेको कन्सुलर शर्माले बताए।

