२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अमेरिकामा ७६४ नेटवर्क सञ्चालन गर्ने २० वर्षीय नेपाली पक्राउ, बाल यौन शोषणको गम्भीर आरोप

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय नेपाली मूलका प्रसन नेपाललाई अनलाइन बाल यौन शोषणको गम्भीर आरोपमा पक्राउ गरिएको छ। ‘टिप्पी’ उपनामले चिनिने नेपाललाई अमेरिकाको न्याय विभागले विश्वव्यापी बाल शोषण सञ्जाल ‘७६४ नेटवर्क’ सञ्चालन गरेको अभियोगमा पक्राउ गरेको हो।

उनका साथमा २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। यदि दोषी ठहरिए, उनीहरूलाई आजीवन जेल सजाय हुनसक्ने बताइएको छ।

नेपालमाथि इनक्रिप्टेड मेसेजिङ एपमार्फत कमजोर नाबालिगहरूलाई लक्षित गरी अश्लील सामग्री उत्पादन गराएको, धम्क्याएको र अरूलाई समेत यस्तै गतिविधिमा सहभागी गराएको आरोप छ। अमेरिकी अधिकारीका अनुसार कम्तीमा ८ नाबालिग पीडित छन्, केही १३ वर्षमुनिका छन्।

एफबीआई निर्देशक काश पटेलका अनुसार यो नेटवर्क २०२० को अन्त्यदेखि सक्रिय थियो र प्रसन नेपालले यसभित्रको एउटा मुख्य उपसमूह नेतृत्व गरेका थिए। नेपालले ७६४ नेटवर्क सिर्जना गरेको र अझै त्यसको नियन्त्रण गरिरहेको उनले अदालतमा स्वीकार गरेका छन्।

उनको मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा सारिएको छ। अदालत सुनुवाइका क्रममा नेपालका आमा, बुबा, दिदी र भाइ पनि उपस्थित थिए। उनकी दिदीले भाइको संलग्नता थाहा नभएको बताइन्।

महान्यायाधिवक्ता पामेला बोन्डीले यो नेटवर्कलाई अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यममध्ये एक भनेकी छन्।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस