२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नागढुंगा–नौबिसे सडक खण्ड दैनिक ४ घण्टा बन्द !

२० बैशाख, काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
बैशाख २२ गते सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनहरूलाई राति नागढुंगा चेकपोष्टमा रोकिनेछ ।

त्यस्तै नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरिएको छ । सीतापाइला भिमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिने बताइएको छ ।

त्यस्तै वैकल्पिक बाटोको रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशुली–गल्छी सडक हुँदै जान सकिने छ । राति ११ बजेतिर सवारीसाधनलाई रोकेर बिहान ३ बजेपछि मात्रै छाडिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा संचालन हुने योजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस