२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

अण्डाको माग एक्कासि बढ्यो, उत्पादन घट्दा अचाक्ली महंगो !

२१ बैशाख , काठमाण्डौँ । गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीले कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीमा कुखुराले कम अण्डा दिन्छ । यो मौसममा रोगहरू पनि देखिन्छन्। पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । उनले भने, ‘अझै अण्डाको उत्पादन घट्ने छ ।’ गर्मी उच्च बिन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न कठिन भएको बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेनन् । विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनले बताए । माग बढेसँगै अण्डाको मूल्य पनि बढ्दै छ । पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट ३० वटा को ४६० रुपैयाँ, ठूलोको ४३५ रुपैयाँ र मिडियमको ३८५ रुपैयाँ तोकिएको छ । बजारमा मागअनुसार अण्डा नपाउँदा मूल्य क्रमशः बढेको छ । गत वर्ष प्रतिक्रेट ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो । मूल्य कम हुँदा लागत नधानेपछि धेरै किसानले अण्डा दिने कुखुरा बेच्नुपरेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस