काठमाडौं । एउटा उडानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक यात्रु पक्राउ परेका छन्। प्रहरीका अनुसार, उडानका क्रममा ती यात्रुले एयर होस्टेसलाई बदनियतपूर्वक छोएको आरोप लागेको हो। घटना शुक्रबार, भारतको नयाँ दिल्लीबाट महाराष्ट्रको शिरडीतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा भएको हो।
पीडित एयर होस्टेसले तुरुन्तै क्रु मेनेजरलाई जानकारी दिएकी थिइन्। विमान शिरडी विमानस्थलमा अवतरण गरेपछि सुरक्षाकर्मीलाई सूचित गरिएको थियो।
सुरक्षाकर्मीहरूले ती यात्रुलाई नियन्त्रणमा लिएर रहाटा प्रहरी चौकीमा बुझाएका थिए। प्रारम्भिक स्वास्थ्य परीक्षणमा ती यात्रुले मादक पदार्थ सेवन गरेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार, आरोपितविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ। इन्डिगो एयरलाइन्सले यस प्रकारको व्यवहारलाई कदापि स्वीकार्य नरहेको स्पष्ट पारेको छ।

