काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा भएको फिलान्थ्रपी एसिया एलायन्स-२०२५ सम्मेलनमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्। यस भेटमा नेपालका स्वास्थ्य सेवा र रोजगारी क्षेत्रमा रहेका प्रमुख चुनौतीहरूमा छलफल भएको छ।
चौधरीले गेट्स फाउन्डेसनको २०७२ को भूकम्प र कोभिड–१९ महामारीको समयमा गरिएको सहयोगका लागि आभार व्यक्त गरे। उनीहरूले नेपालमा गेट्स फाउन्डेसनको सहयोगसँग सम्बन्धित थप कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गरेका छन्।
चौधरी फाउन्डेसनले भूकम्पपछि तीन हजार भूकम्प प्रतिरोधी आवास निर्माण गरेको र कोभिड–१९ को समयमा स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग पुर्याएको थियो।
सिङ्गापुरको सम्मेलनमा गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स लगायत विश्वका प्रमुख नेताहरूले संबोधन गरे। यस सम्मेलनले एसियामा दिगो विकास र सामाजिक न्यायको लागि परोपकारी संस्थाहरू बीच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्य राखेको थियो।

