काठमाडौं । गत शुक्रबार हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान भूगर्भविद्को टोलीले पत्ता लगाएको छ।
भूगर्भविद् कृष्ण पाण्डेका अनुसार, चुम्बकीय वस्तु पत्ता लगाउने प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र चुम्बकीय संकेत देखिएको हो। उनका अनुसार अब अर्को उपकरण प्रयोग गरी गहिराइ मापन गर्ने तयारी भइरहेको छ।
ना४च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिनसहित पार्किङ गरिएको अवस्थामा जमिन भासिएर अचानक हराएको थियो। तीन दिनसम्म खोजी प्रयास असफल भएपछि भूगर्भविद् टोली परिचालन गरिएको हो।
थप अनुसन्धानपछि गाडी उत्खनन गरिने जनाइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार

