२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आपत्तिजनक भिडियो लिक भएपछि नेता ६ वर्षका लागि पार्टीबाट निष्कासित

काठमाडौं । बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु प्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई छ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो र पोस्टहरू सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको हो।

लालु यादवले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै तेज प्रतापको पार्टी र परिवार दुवैमा अब कुनै भूमिका नरहने बताएका छन्। उनले लेखेका छन्, “निजी जीवनमा नैतिक मूल्य मान्यतालाई बेवास्ता गर्नाले सामाजिक न्यायको हाम्रो सामूहिक संघर्ष कमजोर हुन्छ। जेठा छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार पारिवारिक मूल्य र परम्परा अनुरूप छैन।”

तेज प्रताप यादवले भने आफ्नो इन्स्टाग्राममार्फत ती पोस्टहरू आफैंले नगरेको दाबी गर्दै सामाजिक सञ्जाल ह्याक भएको र तस्बिरहरू गलत तरिकाले सम्पादन गरिएको बताएका छन्।

पार्टीबाट निष्कासनको निर्णयपछि विपक्षी नेता तथा तेज प्रतापका भाइ तेजस्वी यादवले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, “हामीलाई यस्ता कुरा मन पर्दैन र सहन सक्दैनौं। हामी जनताको मुद्दामा काम गरिरहेका छौं।” उनले व्यक्तिगत र राजनीतिक जीवन अलग हुने भन्दै जेठा भाइलाई आफ्नो निर्णय आफैं लिनुपर्ने बताएका छन्।

आरजेडीका अनुसार, तेज प्रतापलाई पार्टी र परिवार दुवैबाट हटाइएको र अब उनले कुनै पनि जिम्मेवारी वहन गर्न नपाउने निर्णय प्रभावकारी भइसकेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस