२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस वर्षको विपदमा २० लाख नागरिक प्रभावित हुने, पुर्व तयारी गर्न आग्रह

१२ जेठ , काठमाडौँ । यस वर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो । प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।

यसपाली प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षा समेत गर्ने योजना अघि सारिएको केसीले बताए । यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनकि गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ । सोही पूर्वानुमानका आधारमा प्राधिकरणले सबै सरोकार भएका निकायका प्रतिनिधि तथा संघसंस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।

जल तथा मौसम विज्ञान विभागले विभागले कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ । यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनीको पश्चिमी भू–भाग, गण्डकीको उत्तरपूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । साथै मधेसका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस