१३ जेठ, काठमाण्डौँ । पूर्वी नवलपरासीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान अन्दाजी ६ बजेतिर मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा लु ९ प ८११६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले जानकारी दिए ।
तीन जना सवार उक्त मोटरसाइकल अम्रसाबाट चोरमारातर्फ जाँदै थियो । बाटोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीनै जना गम्भीर घाइते भएका हुन् । त्यसमध्ये दुई जनालाई चिकित्सकले अस्पताल पुर्याउँदा मृत घोषणा गरेको हो। मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो ।
बर्दघाट नगरपालिका–५ घर भई चोरमारा बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते छन् । उनी टायल मार्बल सम्बन्धी मिस्त्री हुन् । उनीहरूलाई सुरूमा प्रादेशीक अस्पताल डण्डा लगिएको थियो । मनिषको थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर भएको छ । उनको बायाँ खुट्टा र भित्री चोट लागेको छ । उनको अवस्था पनि गम्भीर छ ।

