काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–३२ बस्ने सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ घर भएका २७ वर्षीय अशोक कुमार साहु हुन्।
साहुले वैदेशिक रोजगारीको नाममा एक जना पीडितबाट ४ लाख रुपैयाँ लिएका थिए। पैसा लिएपछि उनी सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका साहुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

