काठमाडौं । भारत र पाकिस्तान बीच हालको तनावको अवस्थामा बेलायतले दुवै देशलाई सहयोग गर्ने तयार रहेको जनाएको छ। आणविक शक्ति सम्पन्न यी दुई देशमा दुई दशकयताकै सबैभन्दा उच्च तनावको अवस्था सिर्जना भएपछि, बेलायतका व्यापारमन्त्री जोनाथन रेनोल्ड्सले उक्त प्रस्ताव राखेका छन्।
रेनोल्ड्सले भने, “हामी दुवै देशका मित्र र साझेदार हौँ। हामी दुवैलाई सहयोग गर्न तयार छौं। हाम्रो सन्देश यो हो कि क्षेत्रीय स्थिरताका लागि वार्तामार्फत् तनाव कम गर्न र सहयोग गर्न हामी सबै सम्भावित पहल गर्न सक्छौं र इच्छुक पनि छौँ।” उनले यी शब्दहरू BBC रेडियोसँगको अन्तर्वार्तामा व्यक्त गरेका थिए।
त्यसै गरी, पाकिस्तानी विदेश मन्त्रालयले बेलायती नागरिकलाई भारत-पाकिस्तान सीमाको आठ किलोमिटर भित्र र नियन्त्रण रेखाको १६ किलोमिटर भित्र यात्रा नगर्न र बलुचिस्तान प्रान्तमा यात्रा नगर्न सल्लाह दिएको छ। रेनोल्ड्सले भने, “हामीले स्थितिलाई नजिकबाट नियालिरहेका छौं र बेलायती नागरिकलाई यात्रा सल्लाह अद्यावधिक गर्न र स्थानीय अधिकारीहरूको सल्लाह पालना गर्न आग्रह गरेका छौं।”

