जनकपुरधाम । जिल्ला अधिवेशनमा एमाले कार्यकर्ता बीच झडप हुँदा केही घाइते भएका छन् । अधिवेशनमा मतदाता नामावलीको विवादले उग्र रुप लिदा कुर्सी हानाहानबाट शुरु भएको स्थिती झडपमा परिणत भएको हो ।
एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अगरिया समूहबीचको झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् । रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ । अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनको सभाहलमा अधिवेशन भैरहेको थियो। मतदाता नामावलीको विवादले हलभित्र सुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि रामचन्द्र मण्डल र अगरियाको समूह हल भित्रै धर्ना बसेका थिए भने रघुवीर समूह बाहिर प्रदर्शन गरिरहेका थिए । मण्डल र अगरिया समूह भित्रबाट बाहिर निस्किने वित्तिकै महासेठ पक्षका कार्यकर्ताले अगरिया पक्षकालाई कुट्न थालेको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए । पहिलो कुटाकुटपछि दुबै पक्षका नेताहरु छलफलमा बसेका बेला बाहिर पुनः झडप भएको उनले बताए ।
झडप हुँदा घाइते भएका दुई जनाको टाउकोमा टाँका लगाइएको छ । जिल्ला नेता सत्यनारायण महासेठको टाउकोमा तीन टाँका र रामेश्वर दासको टाउकोमा दुई टाँका लगाइएको छ । रड प्रहारबाट उनीहरुको टाउकोमा चोट लागेको अधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।

