काठमाडौं । इजरायलको जेरुसेलम नजिकै फैलिएको डढेलोले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने प्रमुख मार्गहरू बन्द गरिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रिय आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोहरूले तेल अभिभ–जेरुसेलम जोड्ने मुख्य राजमार्ग १ वरिपरि आगलागी भइरहेको देखाएका छन्। वरपरका पहाडहरूमा बाक्लो धुवाँ देखिएको छ।
कसैलाई आफ्नो गाडीमै छाडेर भाग्नुपरेको देखिएको छ भने कम्तीमा एक दर्जन मानिस अस्पताल भर्ना गरिएको छ।
जेरुसेलम जिल्ला अग्नि विभागका कमाण्डर शमुलिक फ्राइडम्यानले यो आगो इजरायलको इतिहासमै सबैभन्दा ठूलो हुनसक्ने चेतावनी दिएका छन्। उनका अनुसार प्रति घण्टा ६० माइलको गतिमा चलिरहेको हावाले आगो नियन्त्रणमा लिन गाह्रो बनाएको छ।
“यो अझै नियन्त्रणबाहिर छ, र धेरै समयसम्म जारी रहन सक्छ,” उनले भने।
प्रधानमन्त्री नेतान्याहूले पनि यरुशलम सहरमै आगो पस्न सक्ने जोखिम औँल्याएका छन्। उनले भने, “पश्चिमी हावाले डढेलोलाई सजिलै जेरुसेलमको सहरतर्फ धकेल्न सक्छ।”

