काठमाडौं । भारतीय सेनाले पाकिस्तानले उच्च गतिको मिसाइल प्रयोग गरेपछि सटीक जवाफी हवाई कारबाही गरेको जनाएको छ।
शनिबार पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले शुक्रबार राति १:४० बजे पञ्जाबस्थित सैन्य अड्डामा पाकिस्तानले मिसाइल प्रहार गरेको बताइन्। भारतीय वायु रक्षा प्रणालीले उक्त क्षेप्यास्त्र निष्क्रिय पारेको उनको दाबी छ।
उनका अनुसार पाकिस्तानले नियन्त्रण रेखामा ड्रोन घुसपैठ र गोलीबारी बढाएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठ प्रयास भएको र धेरैजसो विफल पारिएको जानकारी दिइन्। साथै, पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुरस्थित सैन्य अड्डामा क्षति पुर्याएको उनले बताइन्।
भारतले जवाफी कारबाहीमा रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर, चुनिया लगायतका सैन्य अड्डामा प्राविधिक केन्द्र, राडार र हतियार डिपोलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ। सियालकोट र पसरुरस्थित राडार र उड्डयन केन्द्र पनि निशानामा परेको कर्नेल कुरेशीको भनाइ छ।
भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका उत्तेजक गतिविधिको जवाफस्वरूप भारतले सैन्य कदम चालेको बताए। पाकिस्तानले यसबारे प्रतिक्रिया दिएको छैन।

