२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

क्रिट केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । ग्रीसको क्रिट टापुको तट नजिक ६.० म्याग्निच्युडको भूकम्प गएको छ। जर्मन भू-वैज्ञानिक अनुसन्धान केन्द्र (GFZ) का अनुसार, यो भूकम्पपछि ग्रीसका लागि सुनामीको जोखिम मूल्यांकन सुरु गरिएको छ। GFZ का अनुसार, यो भूकम्प ७७ किलोमिटर गहिराइमा गएको हो।

युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (EMSC) का अनुसार, सुनामीको जोखिम हाल मूल्यांकनकै चरणमा छ। “भूकम्प र तटको दूरी अनुसार सुनामी स्थानीय (१०० किमि भित्र), क्षेत्रीय (१००० किमि भित्र) वा टाढाको (१००० किमि भन्दा पर) हुन सक्छ,” EMSC ले जनाएको छ।

यता ग्रीसको जियोडायनामिक्स इन्स्टिच्युटले यो भूकम्प ६.१ म्याग्निच्युडको भएको जनाएको छ भने EMSC ले यसलाई ६.३ म्याग्निच्युडको भनी रेकर्ड गरेको छ।

लगातार भूकम्पले ग्रीस हल्लियो

गएको साता पनि ग्रीसका दक्षिणी तटमा आएको एकपछि अर्को शक्तिशाली भूकम्पपछि यस्तै सुनामी चेतावनी जारी गरिएको थियो। मे १३, २०२५ मा कासोस टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दक्षिणी तटीय क्षेत्रमा सुनामीको चेतावनी निम्त्याएको थियो।

तर, ग्रीसको आपतकालीन सेवा विभागका अनुसार, त्यस भूकम्पको तीव्रता ५.९ म्याग्निच्युड रहेको थियो।

शक्तिशाली कम्पनका कारण टर्की, लेबनान, इजिप्ट र इजरायलजस्ता छिमेकी देशहरूमा पनि कम्पन महसुस गरिएको थियो।

भूकम्पपछि सम्भावित सुनामीको जोखिमका कारण बासिन्दा र पर्यटकहरूलाई तटीय क्षेत्रबाट टाढा जान सल्लाह दिइएको थियो।

ग्रीस विभिन्न भूकम्पीय फाल्ट लाइनहरूमा अवस्थित भएकाले यहाँ प्राय: भूकम्प गइरहन्छ। एथेन्स विश्वविद्यालयको सिस्मोलोजी प्रयोगशालाका अनुसार, जनवरी २६ देखि फेब्रुअरी १३, २०२५ सम्म ग्रीसको साइकलाडेस टापु समूह नजिक १८,४०० भन्दा बढी साना भूकम्पहरू रेकर्ड गरिएको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस