काठमाडौं । भारत र पाकिस्तानबीच जब–जब तनावको अवस्था सिर्जना हुन्थ्यो, इस्लामिक देशहरू प्रायः पाकिस्तानको पक्षमा उभिन्थे। भारतले पाकिस्तानमाथी आक्रमण नै सुरु गरेको छ । यो अवस्थामा इस्लामिक देश त्यसमापनि शक्तिशाली युएई के भन्छ ? सबैको चासोको विषय हो । भारतले पाकिस्तानमाथी आक्रमण गरेको थाहा पाएपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले पहिलो प्रतिक्रिया दिँदै संयमता अपनाउन दुवै देशलाई आग्रह गरेको छ।
युएईका उपप्रधानमन्त्री तथा विदेश मन्त्री महामहिम शेख अब्दुल्ला बिन जाएद अल नाहयानद्वारा जारी वक्तव्यमा भनिएको छ, “भारत र पाकिस्तान दुवै राष्ट्रले तनाव घटाउने, संयमता अपनाउने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिमा खतरा पुर्याउने कुनै पनि क्रियाकलापबाट टाढा रहनुपर्छ।”
पाकिस्तानका लागि झट्का
यसअघि यस्ता घटनामा मुस्लिम देशहरू प्रायः पाकिस्तानकै समर्थनमा आउँथे। तर, यसपटक युएईले तटस्थ भूमिका अपनाएको देखिन्छ । जुन भारतको कूटनीतिक जितको रूपमा हेरिएको छ। युएईले थप स्पष्ट पारेको छ कि सैन्य संघर्षबाट टाढा रहनु आवश्यक छ । दक्षिण एसियामा स्थायित्व कायम गर्न संवाद र आपसी समझदारीको आवश्यकता छ।
अरब मिडिया के भन्छ ?
पछिल्ला केही वर्षमा भारत र युएईबीचको सम्बन्ध निकै बलियो बनेको छ। यही कारण युएईले तटस्थ धारणा राखेको हो। तुर्कीले जस्तो खुला रूपमा पाकिस्तानको समर्थन नगरेको यथार्थले भारतको मित्रतामा विश्वास बढाएको छ। अरबका चर्चित मिडियापनि यी देशबीच युद्ध नहोस् भन्नेमा देखिन्छन् ।
खलीज टाइम्स प्रस्तुत गरेको रिपोर्ट पूर्णतः न्यूट्रल देखिएको छ। साउदीको अरब न्यूजलेपनि तटस्थ रिपोर्टिङ गर्दै ‘अपरेशन सिन्दूर’को प्रत्यक्ष प्रसारण गरिरहेको छ। भारतले पाकिस्तानमाथि ‘मिलिटरी स्ट्राइक’ सुरु गरेको जनाउँदै तनावको प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ।
कतारको अल जजीराले पनि भारतको हमलाको प्रत्यक्ष रिपोर्टिङ गर्दै लेखेको छ — ‘भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्ट्राइक गर्यो’ । साथै, भारतीय विदेश मन्त्री एस. जयशंकरको उक्तिको उल्लेख गरेको छ, “दुनियाँले आतंकवादका विरुद्ध शून्य सहिष्णुताको नीति अपनाउनुपर्छ।”
निष्कर्ष
युएई र साउदी अरबजस्ता देशहरूको तटस्थ भूमिकाले संकेत गर्छ कि अधिकांश इस्लामिक मुलुकहरू अब पाकिस्तानको अन्ध समर्थनमा छैनन्। कूटनीतिक हिसाबले यो भारतको लागि ठूलो सफलता हो। यद्यपी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि उनीहरुको यो भूमिका प्रसंशनीय छ ।

