२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

भारत-पाक तनावबीच अमेरिका र साउदीको एक्सन, मध्यस्थता गर्नेबारे के भने ?

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार पाकिस्तानी सेनाध्यक्ष असिम मुनीरसँग टेलिफोन संवाद गर्दै भारत–पाकिस्तानबीचको बढ्दो तनाव कम गर्न अमेरिका मध्यस्थता गर्न तयार रहेको प्रस्ताव राखेका छन्।

रुबियोले दुवै देशलाई तनाव घटाउने उपाय खोज्न आग्रह गर्दै भने, ‘भविष्यका सम्भावित द्वन्द्व रोक्न अमेरिका रचनात्मक वार्ताको सुरुआतमा सहयोग गर्न इच्छुक छ।’

यसैबीच, साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले पनि भारतका एस जयशंकर र पाकिस्तानका इशाक डारसँग फोनवार्ता गरेका छन्। साउदी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजकुमार फैसलले भारत–पाकिस्तानबीचको सैन्य तनाव अन्त्य गर्ने र स्थितिलाई सहज बनाउने उपायमा छलफल गरेका छन्।’

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार इशाक डारले भारतीय आक्रमणपछि पाकिस्तानले लिएको जवाफी कदमबारे जानकारी गराएका थिए। फैसलले निर्दोषको ज्यान गएकोप्रति समवेदना प्रकट गर्दै पाकिस्तानको संयमी प्रतिक्रिया सराहनीय रहेको बताएका थिए।

तर भारतको परराष्ट्र मन्त्रालय वा विदेशमन्त्री जयशंकरले भने साउदी विदेशमन्त्रीसँगको संवादबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस