२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

हृदयेन्द्रलाई राजा मान्न तयार भएको खबरमा देउवाले अब के भने ? (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाले राजसंस्थाको समर्थन गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा देउवाले नबोलेको, नभनेको र नसोचेको कुरा प्रचारमा ल्याउनु पत्रकारिताको मर्म विपरीत रहेको उल्लेख गरिएको छ।

पार्टीले सभापतिलाई ‘हृदयेन्द्र शाह राजा बनेमा समर्थन रहने’ भनिएको भ्रामक समाचारप्रति कडा आपत्ति जनाउँदै त्यसलाई कपोलकल्पित र भ्रामक भनेको छ। विज्ञप्तिमा भनिएको छ, “जोसुकैले यस्तो कार्य गरे पनि कांग्रेस त्यसको घोर निन्दा र भर्त्सना गर्दछ।”

कांग्रेसले सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण र सम्बर्द्धनमा उहाँको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरेको छ।

साथै, यस्ता भ्रामक प्रचारप्रति सर्वसाधारणलाई विश्वास नगर्न कांग्रेसले आग्रह गरेको छ।

8637f1d2-f727-42cf-a87a-3c31e1365d7d-1747908363.jpg

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस