१८ जेठ, काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, पानीघाटमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा मोटरसाइकल पछाडि सवार महिलाको मृत्यु भएको हो ।
दुर्घटनामा परी नुवाकोट ककनी–१ निवासी ३६ वर्षीया सुनिता बलामीको उपचारका क्रममा एपीएफ अस्पताल बलम्बुमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मानबहादुर बलामी पनि घाइते भएका छन् । उनी सुनिताकै स्थायी ठेगाना नुवाकोट, ककनी–१ का हुन् । हाल उनको एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त मोटरसाइकललाई थानकोट प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार

