२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राजावादीमाथी व्यवसायी थपिए, भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने घोषणा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्ने जनाएका छन् ।

गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित नीजि सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै व्यवसायी रुष्ट छन् ।

प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गर्न लागिएको व्यवसायीको तर्क छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भइ हाम्रा सवारी साधन मिति २०८२/२/१९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको’, विज्ञप्तिमा उल्लेख छ । सेवा ठप्प हुँदा यात्रु तथा सरोकारवाला पक्षलाई पर्न जाने असुविधाको जिम्मा पनि सरकारले लिनुपर्ने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस