२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा, देशभरको जनजीवन प्रभावित !

१९ जेठ , काठमाडौँ । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो । बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ ।

कोटेश्वर जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको छ । अहिले प्रतिक्षालयमा यात्रु अलपत्र भएका छन् । बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्। स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन् ।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ ९नियमन र व्यवस्थापन० नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी बताउँछन् ।

यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो । तर, २०८१ असार १३ गते सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधानहरू खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो । राइड सेयरिङ सेवाहरू विश्वका धेरै देशहरूमा सञ्चालित छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस