२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस्तो छ माधव नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा लगाउने अख्तियारले लिएको आधार

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योग पीठको नाममा काभ्रेमा ३१४ रोपनीभन्दा बढी सरकारी प्रकृतिको जग्गा गैरकानूनी रूपमा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ।

नेपालले मन्त्रिपरिषद्‍बाट कानूनविपरीत पतञ्जलीलाई जग्गा बिक्रीको स्वीकृति दिएको र यसबाट १८ करोड ५८ लाख रुपैयाँ घाटा पुगेको अख्तियारको दाबी छ। यही प्रकरणमा माधव नेपालको सांसद पद निलम्बन भएको छ।

तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्मा ठाडो प्रस्तावमार्फत् कानुनी प्रक्रिया नपुगी पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिलाएको अख्तियारको दाबी छ। यो निर्णय २०६६ साल माघ १८ गतेको विधेयक समितिको निर्णय कार्यान्वयन गर्नुअघि नै भएको देखिएको अख्तिायरको भनाइ छ ।

मन्त्रिपरिषद्को २०६६ साल फागुन ६ गतेको बैठकबाट पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरिएको पनि अभियोगपत्रमा उल्लेख छ। त्यसअनुसार तत्कालीन मुख्यसचिव माधव प्रसाद घिमिरेले मालपोत कार्यालयलाई पत्राचार गरी निर्णय कार्यान्वयन गराएको अख्तियारको भनाइ छ ।

तर, मिति २०६५ साल माघ १५ गते नै पतञ्जलीले सो जग्गा सनराइज बैंकबाट कर्जा लिन धितो राखिसकेको थियो। अझ अर्काे कुरा उक्त जग्गा जफत तथा सरकारी सार्वजनिक कायम हुनुपर्ने प्रकृतिको रहेको र त्यसलाई मनु घिमिरेसहित आठजनालाई बिक्री गरिएको पाइएको छ। ती व्यक्ति पतञ्जलीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित रहेको अख्तियारको ठहर छ।

कम्पनीको कर्जा चुक्ता नभएको अवस्थामा झूठा विवरण प्रस्तुत गरी मालपोत कार्यालयमार्फत फुकुवा गरिएको आयोगको भनाइ छ। पुनः उही जग्गा पुन धितो गराउन पनि तत्कालीन सनराइज बैंकले प्रक्रियागत त्रुटि गर्दै प्रत्यक्ष लाभार्थीहरूलाई साथ दिएको आयोगको भनाइ छ।

अख्तियारले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि पतन्जलीले हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा नेपालसमेत ९३ जनाले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको जिकिरसहित आरोपपत्र दायर हो ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार भएको अख्तिायारको भनाइ छ। यिनै कार्यहरूमा पूर्वप्रधानमन्त्री माधव नेपालको भूमिका देखिएकोले भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो। नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस