८ असार, काठमाडौँ । अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन वटा स्थानमा हमला गरेको बताएका हुन् । उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन् ।
‘हामीले इरानका तीन आणविकस्थल–फोर्डो, नटान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्यस्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो, यो विषयमा तपाईको ध्यानका निम्ति धन्यवाद’, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् ।
इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । उता इजरायलमा भने २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन् ।

