२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

अहमदाबाद विमान दुर्घटना : पूर्व मुख्यमन्त्रीको मृत्यु, अन्तिम तस्बिर सार्वजनिक

काठमाडौं। भारतको अहमदाबादमा एयर इन्डिया विमानको गम्भीर दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको मृत्यु भएको पुष्टि भएको छ। उनको अन्तिम तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जुन दुर्घटना अघिको समयको मानिएको छ।

विमानमा सवार यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, १ क्यानेडियन, र ७ पोर्चुगिज नागरिक थिए, साथै १२ जना चालक दलका सदस्यहरू पनि थिए। मृतकहरूको शव यति नराम्ररी जलेका छन् कि डीएनए परीक्षणपछि मात्र पहिचान सम्भव हुनेछ। अहिलेसम्म १५० जना बेपत्ता छन्, र दुई जना बाँचेका छन् जसको अवस्था गम्भीर छ।

दैनिक भास्करका अनुसार १०० जनाको मृत्यु भएको छ। उक्त विमान, उडान नम्बर एआई-१७१, लण्डन ग्याटविकतर्फ गइरहेको थियो र दिउँसो १:४० बजे (नेपाल समयअनुसार २:२५ बजे) सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको करिब दुई मिनेटपछि दुर्घटनाग्रस्त भएको थियाे। विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए।

विमानले विमानस्थलको पर्खाल र एयर कस्टम कार्गो कार्यालय नजिकैको भवनमा ठोक्किएको थियो, जुन अहमदाबाद सिभिल अस्पतालका डाक्टरहरूको आवासीय भवन हो। जानकारी अनुसार १५ जना डाक्टर घाइते भएका छन्, तर अन्य स्रोतले बीजे मेडिकल कलेजको होस्टलमा ठूलो क्षति भएको र धेरै डाक्टरको मृत्यु भएको दाबी गरेका छन्, जुन स्पष्ट हुन बाँकी छ। दुर्घटनापछि सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस