काठमाडौं । इरानले नै पुष्टि गरेको छ कि अमेरिकाले फोर्डो, इस्फहान र नताञ्जस्थित उसका तीन प्रमुख परमाणु केन्द्रहरूमा हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि इरानको परमाणु ऊर्जा संगठनले वक्तव्य जारी गर्दै भनेको छ— “दुश्मनहरूको षड्यन्त्रका बाबजुद, हजारौं वैज्ञानिक र प्राविधिकहरूको प्रयासले यो राष्ट्रिय उद्योगको विकास रोकिँदैन।”
इरानको सरकारी समाचार संस्था आइआरएनएले पनि हमलाको पुष्टि गर्दै भन्यो कि ती हमलाहरूले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेका छन् । इस्फहानका उपराज्यपाल अकबर सालेहीका अनुसार, ती केन्द्रहरू वरपर आक्रमण भएको हो।
यसैबीच, संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी बमवर्षकहरूले इरानमा गरिरहेका खतरनाक हमलाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले भने, “यो संघर्ष छिट्टै नियन्त्रणबाहिर जान सक्ने जोखिम बढ्दैछ, जसले नागरिक, क्षेत्र र विश्वका लागि विनाशकारी परिणाम ल्याउन सक्छ।” उनले कूटनीतिक समाधानको आह्वान गरेका छन्।
इरानका राष्ट्रपति मसूद पेजेशकियनले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको फोन वार्तामा चेतावनी दिँदै भने, “जायोनी शासनको निरन्तर आक्रामकताप्रति इरानको प्रतिक्रिया अझै विनाशकारी हुनेछ।” मानव अधिकार समूह ह्यूमन राइट्स एक्टिविस्ट्सका अनुसार, इजरायली हमलामा अहिलेसम्म कम्तीमा ८६५ जनाको मृत्यु भइसकेको छ भने ३,३९६ जना घाइते भएका छन्। मृतकमध्ये ३६३ जना सर्वसाधारण र २१५ जना सुरक्षाकर्मी रहेको जनाइएको छ। इजरायलको हवाई अड्डा प्राधिकरणले अमेरिकी हमलाको सन्दर्भमा देशको हवाई क्षेत्र दुवै दिशाका उडानका लागि बन्द गरिएको घोषणा गरेको छ।

