२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

इरान हान्दा अमेरिकी राष्ट्रपति के गर्दै थिए ? आए यस्ता तस्बिर !

काठमाडौं । अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा हमला गरेको छ। हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोर्डोस्थित भूमिगत परमाणु केन्द्रमा ठूलो क्षति पुगेको बताएका छन्। साथै आफूहरु सफल भएको दाबी गरेका छन् । फोर्डो इरानको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण परमाणु स्थल मानिन्छ। ट्रम्पले यो क्षणलाई अमेरिका, इजरायल र सम्पूर्ण विश्वका लागि ऐतिहासिक भनेका छन् । इरानले अब युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने उनले बताएका छन्।

जब अमेरिका इरानमाथि हमला गरिरहेको थियो, त्यतिबेला राष्ट्रपति ट्रम्प स्वयं ह्वाइट हाउसको सिचुएशन रूममा बसेर उपराष्ट्रपति जेडी वेंस, विदेशमन्त्री मार्को रुबियोलगायतका अधिकारीहरूसँग मिलेर सम्पूर्ण अपरेशनको निगरानी गरिरहेका थिए। ह्वाइट हाउसले त्यसबेलाका केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।

यस हमलामा अमेरिका बी टू स्टिल्थ बमवर्षक विमान प्रयोग गरेको थियो । जुन बंकरभेदी बमले सुसज्जित थिए। ती बमहरूले फोर्डोको भूमिगत संरचनामा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले भने, “इरानसँग अझै समय छ—शान्तिको बाटो रोज्न। यदि उसले फेरि हमला गर्‍यो भने, हामी पनि जवाफ दिनेछौं। शान्ति नभए विनाश हुनेछ।” उनले थपे, “सबै लक्ष्यहरूमा हमला गरिएको छैन। आजको रात सबैभन्दा कठिन र सम्भवतः सबैभन्दा घातक थियो। यदि चाँडै शान्तिमा आउने स्वीकार गरेन भने, हामी ती बाँकी लक्ष्यहरूमा पनि सटीकता, गति र कौशलका साथ हमला गर्नेछौं।”

ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहू, इजरायली सेना र अमेरिकी सेनालाई धन्यवाद दिँदै भने, “हामीले एउटा टोलीको रूपमा काम गर्‍यौं, जस्तो सायद पहिले कहिल्यै गरिएको थिएन। यो अपरेशन दशकौँपछि देखिएको सबैभन्दा प्रभावशाली र सफल थियो।”

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस