२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

अब युवालाई ३ लाख र महिलालाई ५ लाखसम्म बिनाधितो सरकारले ऋण

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्।

यो ऋण लिनका लागि धितो अनिवार्य हुने छैन, जसले गर्दा रोजगारीका लागि विदेश जान चाहने तर आर्थिक अभाव भएका युवाहरूलाई ठूलो राहत मिल्ने सरकारको विश्वास छ। वैदेशिक रोजगारीमा जाने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाले धितो लिएर वा नलिईकनै प्रवाह गर्ने ३ लाख रुपैयाँसम्मको कर्जालाई अब ‘विपन्न वर्ग कर्जा’मा गणना गर्न सकिनेछ। महिलाको हकमा भने यो सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्‍याइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विना धितो ऋणको व्यवस्था गरेको हो। विगतमा धेरै युवाहरूले विदेश जान लाग्ने टिकट, भिसा र अन्य खर्च जुटाउन चर्को ब्याजमा साहुसँग ऋण लिनुपर्ने वा जायजेथा धितो राख्नुपर्ने बाध्यता थियो। यो नयाँ व्यवस्थाले त्यस्तो बाध्यतालाई अन्त्य गरी औपचारिक बैंकिङ प्रणालीबाटै सस्तो र सहज रूपमा ऋण लिन सहयोग पुग्ने श्रम मन्त्रालयको विश्वास छ। महिलाहरूका लागि बढाइएको ऋण सीमाले उनीहरूलाई वैदेशिक रोजगारीमा जान थप प्रोत्साहन मिल्नेछ।

श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिन बाध्य हुने गरेको बताउँदै सरकारले बैंकमार्फत ऋण दिने व्यवस्था गरिएको बताएका छन्। त्यसका लागि मन्त्रालयले कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाएको छ। त्यसरी ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाहरूले उक्त ऋण रकम विदेशमा काम गर्दै तिर्नुपर्ने छ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस