२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

इरानको जेलमा रहेका ५ नेपाली छुटे, स्वदेश फर्किएका उनीहरु कोको हुन् ?

काठमाडौँ । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन् । तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो ।

नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल–इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्वपछिको जटिल अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षाका उपायस्वरूप इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन, यात्रा सुझाव तथा आवश्यकता अनुसार उद्धारको प्रक्रिया अघि बढाएको थियो ।

द्वन्द्वकै क्रममा नेपाल सरकारले भारत सरकारसँग गरेको आग्रहअनुसार ‘अपरेशन सिन्धु’ अन्तर्गत भारतबाट सञ्चालित उद्धार उडानमार्फत तीन चरणमा नौ जना नेपालीहरूलाई पनि सुरक्षित उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ ।

उद्धार तथा समन्वयको सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने भारत सरकार, इरान सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतलगायतप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ । नाम भने खुलाईएको छैन ।

 

 

प्रकाशित मिति : २०८२ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस