२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

आवश्यकता पर्दा यी हातहरू हतियारका रूपमा प्रयोग गर्छु : वामदेव गौतम

अब हरेक पक्षलाई जोड्दै जान्छु

काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ । आज (शुक्रबार) राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसहित दुवै पार्टीमा आबद्ध नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको दावी गरेका छन् । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो दावी गरेका हुन् । ‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु । अहिले पनि त्यसरी जान्छु । म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन । सफलता मात्रै प्राप्त भएको छ,’ उनले भने ।

‘यो देश हाम्रो हो, यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो । हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसको निम्ति लाग्नु पर्दछ’, नेता गौतमले भने । उनले भने, ‘चार वर्ष पहिले म आउन पाएको भए समाजवाद निर्माणको कुरो हुन्थ्यो । किनकि, म लागेपछि हुन्छ । म लागेपछि समाजवाद निर्माण हुन्छ । लाग्ने भनेको तपाईंहरूसित साथमा लाग्ने हो । एक्लै लाग्ने होइन । सिङ्गो समाज लाग्छ । त्यो आवश्यकता हो आजको । एक पटक पार्टीले निर्णय गरेर अब सुरु गरौँ भनौँ त, मैले किताब लेखेको छु, समाजवाद निर्माणसम्बन्धी हाम्रो योजना नेपालमै १२ सय खर्बको सम्पत्ति तयार गरेको छु, त्यति भएपछि हामीले समाजवाद निर्माण गर्न सकिन्छ ।’

गौतमले आफू आज ज्यादै नै खुसी भएको बताएका छन् । उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए । ‘आज म ज्यादै खुसी भएको छ । अलिअलि पनि होइन ज्यादै धेरै । मैले धेरै व्यक्त गर्न सक्दिनँ । नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन चार वर्ष पहिलेदेखि सुरु गरें । मेरो पार्टी कार्यालय र यहाँ धेरै टाढा होइन तर मलाई यहाँ आउन चार वर्ष लाग्यो । मैले भने जसरी एकता भएको छ ।’

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस