काठमाडौं । राजस्व अनुसन्धान विभागले तातोपानी नाकामार्फत अवैध रूपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। विभागले प्रतिवादीहरूसँग १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार रुपैयाँ बिगो असुलसहित कैद सजाय माग गरेको छ।
विभागको अनुसन्धानअनुसार, २०८१ पुस २२ गते ललितपुरको महालक्ष्मी–४ स्थित गोदामबाट ८६ हजार ४ सय थान भेप बरामद भएको थियो। उक्त बरामदपछि विभागले बालकुमारीस्थित शाखा कार्यालय र नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको थियो। करिब साढे पाँच महिनासम्म गरिएको विस्तृत अनुसन्धानपछि सिल्कले भेप मात्र नभई अन्य सामानमा समेत करोडौंको राजस्व छली गरेको प्रमाण भेटिएपछि यो मुद्दा दायर गरिएको हो।
राजस्व छली प्रकरणमा रमेश शेर्पासँगै उनका भिनाजु विजय शेर्पालाई समेत मुख्य अभियुक्त बनाइएको छ। विजय तातोपानी नाकामा क्रियाशील रहँदै भन्सार अधिकारी, राजनीतिक दलका नेता र पत्रकारहरूमाथि प्रभाव जमाउँदै आएको व्यापारीहरूको दाबी छ। यस्तै, सिल्क ग्रुपका गोदाम सञ्चालक महेशप्रसाद पाठक र कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रूपमा आधा सजाय माग गरिएको विभागले जनाएको छ। सबै प्रतिवादी फरार रहेकाले उनीहरूको नाममा म्याद काट्ने तयारी भइरहेको जिल्ला अदालत ललितपुरले जनाएको छ।
विभागले मुद्दामा करिब ६८ करोडभन्दा बढी नगद बिगो असुल माग गर्दै बाँकी रकम कैद सजायमार्फत असुल गर्नुपर्ने माग राखेको छ। विभागीय प्रवक्ताका अनुसार प्रतिवादीहरूले गरेको अवैध कारोबार र कर छलीका कारण राष्ट्रलाई ठूलो राजस्व घाटा पुगेकाले कडाभन्दा कडा कारबाही माग गरिएको हो।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ गाती मान्द्राका रमेश शेर्पा सामान्य व्यापारी परिवारका सदस्य हुन्। उनका पिताले तातोपानी नाकामा मैदा, चामल, धुपलगायत सामग्रीको सानो व्यापार गर्थे। रमेश काठमाडौंमै बस्दै व्यापारमा होमिएका थिए। कोरोना महामारीताका लकडाउनको अवसरलाई प्रयोग गरी प्रशासनलाई समेत प्रभावित पार्दै उनले चीनबाट सुनको अवैध कारोवारमार्फत करोडौं सम्पत्ति आर्जन गरेको दाबी व्यापारीहरूले गरेका छन्।
सम्पत्ति बढ्दै जाँदा उनी भारतीय र चिनियाँ व्यापारीहरूसँग प्रत्यक्ष सम्पर्कमा पुगे भने उनका भिनाजु विजय नाकामा बसेर ‘सेटिङ’ मिलाउने र रमेश काठमाडौंमा बसेर प्रमुख नेतादेखि प्रहरी–प्रशासनसम्मलाई प्रभावित पार्ने गरेको आरोप लाग्ने गरेको छ। केही वर्षमै अरबपतिको सूचिमा पुगेका रमेशको सम्बन्ध कांग्रेस नेता मोहन बस्नेत र माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालसँग निकट रहेको समेत आरोप लाग्ने गरेको छ। यसरी, सिल्क ग्रुप र रमेश शेर्पाको नेतृत्वमा भएको अवैध भेप कारोबारले नेपालमा राजस्व छलीको गम्भीर रूप उजागर गरेको छ, जसले नियामक निकाय र कानुनी व्यवस्थालाई थप चुनौती दिएको छ।

