२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

weather forecast nepal today

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य भन्दा दक्षिणतिर सरेको र पश्चिमतर्फ सरदर स्थानमै रहेको छ ।

यसको प्रभाव स्वरूप अहिले देशका अधिकांश पहाडी भागमा सामान्यतया बादल लागिरहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको स्थिति छ। गण्डकी र कर्णाली प्रदेशका केही पहाडी इलाकामा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी स्थानमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशसँगै अन्य पहाडी क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ । तराईका केही भागमा पनि वर्षा पर्ने संकेत छ।

यस्तै, आज राति समेत पहाडी क्षेत्रमा सामान्यतया बादल रहने र अन्य भूभागमा आंशिक बदली रहने देखिएको छ । कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा र बाँकी भूभागका छिटफुट ठाउँमा मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना उच्च भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस