काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार अस्पताल भ्रमण सुरु गरेकी छन्। शुक्रबार राति प्रधानमन्त्री नियुक्त भएकी उनले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमका रूपमा वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेहरूको अवस्था अवलोकन गरिन्।
कार्कीले चिकित्सकसँग विस्तृत जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन्। उनले स्रोतसाधनको अभाव हुन नदिने र सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्। आजै उनले बानेश्वरस्थित सिभिल अस्पतालमा रहेका घाइतेहरूसमेत भेट्ने कार्यक्रम रहेको छ।
अस्पताल भ्रमणपछि उनले आन्दोलनकै क्रममा आगजनी भएका कोटेश्वर प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार

